Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

काठमाडौं, २९ पुस २०८० । नेपालमा सोमबारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य बर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एक–दुई स्थानमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहने छ ।

विभाग अन्तर्गतको मौसम पूर्वानु्मान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार भोलिदेखि आजभन्दा अलि बढी पश्चिमी वायुको प्रभाव रहने भएका कारण हल्का बर्षाको सम्भावना रहेको छ । उहाँले भन्न्नुभयो, “आज पश्चिमी वायुको प्रभाव आंशिक रुपमा रहेको छ । रातिदेखि अलि बढी प्रभाव रहने भएकाले सोमबार र मंगलबार सामान्य बर्षाको सम्भावना रहेको छ । तराईमा भने बर्षाको सम्भावना छैन ।”

वर्षा भए पनि १० मिलिमिटरभन्दा कम नै बर्षा हुने उहाँको भनाइ छ । सोमबार रातिदेखि गण्डकी, कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार केही ठाउँमा वर्षा हुनेछ भने कोशी र गण्डकीका थोरै ठाउँ र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले बताउनुभयो । उहाँका अनुसार तराईमा लागिरहेको हुस्सुु समेत भोलिदेखि हट्दै जानेछ ।

उहाँले भन्नुभयो, “भोलिदेखि तराई क्षेत्रमा वायुमण्डल स्थिर रहँदा बिहानदेखि हुस्सु लागेको छ । पश्चिमी वायुको प्रभावका कारण भोलिदेखि वायुमण्डल चलाएमान हुने भएकाले तराई क्षेत्रमा लागेको हुस्सु हट्दै जानेछ ।”

 

तपाईको प्रतिक्रिया