झापा, २९ पुस २०८० । झापामा शनिबार(हिजो) साँझ शिवसताक्षी नगरपालिका-१० स्थित माइधारमा भएको दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ । मोटरसाइकलमा सवार मृतक झापा दमक-९ बस्ने २३ वर्षीय अनुप ढकाल रहेको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा मोरङ उर्लाबारी १ बस्ने अन्दाजी २१ वर्षीय प्रदीप बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मोटरसाइकल चालक र मोटरसाइकलमा सवार यकिन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
हिजो साँझ ६ बजेको समयमा झापा शिवसताक्षी सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा १४ च ६६०३ नं.को कार र विपरीत दिशाबाट गइरहेको मे १० प ७२१२ नं.को मोटरसाइकल एक आपसमा जुधेका थिए । कारमा पाँचजना सवार रहेकोमा दुर्घटनामा परी चार जना घाइते भएका छन् । कार चालक बिर्तामोड-३ बस्ने ५० वर्षीय अनिलकुमार शाहको शरीरमा चोट लागेको छ । अवस्था सामान्य रहेकाले उनको कनकाई अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । त्यस्तै बिर्तामोड ४ बस्ने ५३ वर्षीय जयप्रकाश शाहको अनुहारमा चोट लागेको छ । अवस्था सामान्य रहेको उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै बिर्तामोड-३ बस्ने ४४ वर्षीय रञ्जन शाहको नाकमा चोट लागेको छ । अवस्था सामान्य रहेको उनको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ भने बिर्तामोड-३ बस्ने ५३ वर्षीय ललित शाहको अनुहारमा चोट लागेको छ । अवस्था सामान्य रहेको उनको बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको डीएसपी रिजालले बताए । सोही कारमा सवार तत्काल नाम, थर, वतन नखुलेका पुरुष ‘मलाई केही भएको छैन’ भनी घटनास्थलबाट आफूखुसी गएकोले बुझ्ने कार्य भइरहेको रिजालले जानकारी दिए ।