Online Bichar
बिहिबार, आश्विन १७, २०८१ | Thursday, October 3, 2024

काठमाडौँ, २७ पुस २०८० । बाढी, पहिरोले क्षति गरेर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको ४ दिनमा काठमाडौँमा ल्याइने भएको छ भने माघ १ गते वितरण थालिने भएको छ। अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी बुधवार साँझदेखि पुनःकाठमाडौँमा पथान्तरण गरिएको छ।

यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएअनुसार बुधवार साँझदेखि काठमाडौँका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

उनले भने‚ ‘निर्माण व्यवसायीको माग सम्बोधन गरेर मेलम्चीको पानी काठमाडौँ पथान्तरण गरिएको छ, २७ किलोमिटर लामो सुरुङमा आधाजति पानी रहेकाले अबको ४ दिनमा मेलम्ची खोलाको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुग्नेछ।’

करिब २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण शुरु गरिए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उनले बताए।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले आगामी माघ १ गतेदेखि काठमाडौँ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको जनाइएको छ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए।

आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधवार साँझदेखि काठमाडौँका लागि पानी पठाइएको सिनियर डिभिजनल इञ्जिनियर कुँवरले बताए।

उनका अनुसार बाढीले क्षति बनाएको संरचना बनाउन निर्माण व्यवसायीले दैनिक ४५ जनाभन्दा बढी कामदार र मेसिन परिचालन गरेको थियो।

खानेपानीमन्त्री महिन्द्रराय यादवले पुस अन्तिमसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने घोषणासमेत गरेका थिए। मेलम्चीको पानी तत्काल काठमाडौँ ल्याउन मन्त्री यादवले तीन पटक स्थलगत अनुगमनसमेत गरेका थिए।

बाढीका कारण रोकिएको पानी काठमाडौँ ल्याउन मन्त्री यादवसहित खानेपानी सचिव सुरेश आचार्य र मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक अन्सारी सक्रियतापूर्वक लागेको मन्त्री यादवका स्वकीय सचिव टङ्क धमलाले बताए।

 

तपाईको प्रतिक्रिया