Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

काठमाडौँ, २६ पुस २०८० । नेपाल प्रेस काउन्सिलले युट्युबको माध्यमबाट पत्रकारिता गर्नेहरूले पत्रकार आचारसंहिताको पालना अनिवार्य भएको बताएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत मर्यादित पत्रकारिता हुनुपर्ने बताएका हुन् ।

प्रेस काउन्सिलले आयोजना गरेको युटुब व्यवस्थापनका सन्दर्भमा आचारसंहिता अभिमुखिकरण कार्यक्रममा बिहीबार अध्यक्ष बस्नेतले पत्रकारितामा युट्युब माध्यमको भूमिका बढ्दै गएको पनि बताए । उनले नेपालको पत्रकारितामा युट्युबको प्रत्यक्ष प्रभाव बढ्दै गएकाले पत्रकारिता गर्ने हो भने युट्युबको सञ्चालन व्यवस्थित गर्न जरूरी भएको बताए ।

‘तपाईंहरू युट्युबबाट नै पत्रकारिता गर्छु भन्ने सोच्नुभएको छ भने पत्रकारिताका मूल्य र मान्यताअनुसार चल्नुस् । पत्रकारिता कर्म गर्नुस् । कसैले तपाईंमाथि प्रश्न उठाउँछ भने हामी साथमा छौँ,’ उनले भने ।

प्रेस काउन्सिल सबै पत्रकारको अभिभावक संस्था भएकाले युट्युबमार्फत पत्रकारिता गर्नेको पनि अभिभावक भएको प्रस्ट पार्दै अध्यक्ष बस्नेतले युट्युबका माध्यमबाट हुने पत्रकारितामा देखिएका समस्या समाधान गर्ने विषयमा काउन्सिलले सधैँ गम्भीरतापूर्वक भूमिका निर्वाह गर्ने गरेको बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताए । उनले सम्पादन बिनाको सामग्री सञ्चार सामग्री नहुने भन्दै युट्युबको माध्यमबाट पत्रकारिता गर्नका लागि आवश्यक दक्षता दिएर प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

युट्युबमार्फत हुने पत्रकारितामा संलग्नहरू सञ्चार क्षेत्रकै सदस्य भएको भन्दै उनले नियमसंगत, व्यवस्थित सञ्चालन भई पूर्ण सदस्य बन्न सञ्चालकहरूलाई आग्रह गरेका थिए । प्रेस काउन्सिलले करिब ५० वटा युट्युबमार्फत पत्रकारिता गर्नेहरूलाई तालिमसहितको अभिमुखीमरण कार्यक्रम गरेको थियो ।

 

तपाईको प्रतिक्रिया