काठमाडौँ, २६ पुस २०८० । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा स्पिनर सन्दीप लामिछाने बलात्कारमा दोषी ठहर भइ ८ वर्षको जेल सजाय तोकिएपछि यो विषय अहिले बहस र चर्चामा छ।
सामाजिक सञ्जालमा अदालतको आदेशप्रति मतविभाजन देखिएका छ। कतिले सजाय ठिक भनिरहेका छन् त कतिले अदालतको निर्णयप्रति असहमति जनाइरहेका छन् ।
उक्त घटनाले नेपालमा हुने कयौँ बलात्कार र बलात्कार पछि हत्या गरिएका घटनालाई एक पटक झस्काइदिएको छ। पश्चिम नेपालकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणका आरोपी अझै फेला पार्न सकिएको छैन।
नेपाल प्रहरीले पन्त जस्ता केही सिमित घटनाबाहेक अधिकांश घटनाका आरोपीलाई कानुनी दायरामा ल्याएको दावी गर्दै आएको छ। यद्यपि बलात्कार, हत्या, हिंसा, ठगीजस्ता घटनाहरु बढ्दो क्रममा देखिन्छ।
प्रहरीकै तथ्यांक केलाउने हो भने दैनिक कम्तिमा ५ जना बलात्कार गरेको आरोपमै पक्राउ पर्ने गरेका छन्। पाँच वर्षमा १० हजारभन्दा बढी बलात्कारकै आरोपमा पक्राउ परेका तथ्यांकले नेपालको स्थितिलाई छर्लंङ्ग पारिदिन्छ।
बालिकादेखि वृद्धासम्म यसको प्रत्यक्ष मारमा छन्। समाजमा यसको गम्भीर असर परिरहेको छ। प्रहरीका अनुसार जबर्जस्ती करणीमा कम्तिमा दैनिक ५ जना पक्राउ परिरहेका छन्। प्रहरीको तथ्यांकलाई हेर्ने हो भने बलात्कार आरोपमा यो वर्ष मात्र १ हजार ८०० भन्दा बढीमाथि मुद्दा चलाइएको छ।
पछिल्लो पाँच वर्षमा मात्रै १० हजार १५९ जना बलात्कारको आरोपमा पक्राउ परेका छन्। जसमा १०० जना महिला छन्।
यो वर्षको ९ महिनाभित्र मात्र करिब १ हजार ८५३ जना बलात्कारको आरोपमा पक्राउ परिसके। आव २०७५/७६ मा २ हजार २३२ जना पक्राउ परेका थिए भने ७६/७७ मा १ हजार ९२३ जना पक्राउ परेका थिए।
आव ७७/७८ मा २ हजार ११७ जना पक्राउ परे। यस्तै आव ७८/७९ मा २ हजार ३४ जना पक्राउ परेका छन्।
नेपालमा भएको बलात्कारका घटनामा विदेशीहरू पनि पक्राउ परिरहेका छन्। पछिल्लो पाँच वर्षमा ८७ जना पक्राउ परेका छन्। आव २०७९/८० मा १७ , आव ७८/७९ मा १४ जना, आव ७७/७८ मा ११, आव ७६/७७ मा १९ जना र आव ७५/७६ मा २६ जना विदेशी पक्राउ परेका छन्।
बलात्कार कसुरमा यस्तो छ कानुन
मुलुकी अपराध संहिताको दफा २१९ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिने उल्लेख छ।
‘करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन’, भन्ने उल्लेख गरिएको छ।
‘होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन, गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्गबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ’, संहितामा उल्लेख छ।
(क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्मकैद।
(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदेखि बीस वर्षसम्म कैद।
(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म कैद।
(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म कैद।
(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म कैद।