Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

भद्रपुर, २४ पुस २०८० । भद्रपुर नगरपालिका-९ मा तीनमहिने आधारभूत विद्युत् जडान तालिम सुरु भएको छ । बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने र वडामा विद्युत् प्राविधिकको आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले ९ नम्बर वडा कार्यालय र व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको संयुक्त आयोजनामा सोमबारदेखि तालिम सुरु गरिएको हो ।

पुहाँतुबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिर दुहागढीको सभा हलमा वडाध्यक्ष रामप्रसाद दाहालको अध्यक्षतामा आयोजित समारोहकाबीच प्रमुख अतिथि व्यावसायिक तथा सीप विकास तालिम केन्द्र भद्रपुरका प्रमुख विनोदप्रसाद न्यौपानेले तालिमको उद्घाटन गर्दै तालिमको आवश्यकता र औचित्यका बारे प्रकाश पारेका थिए ।

श्रीकृष्ण प्रणामी युवा परिषद्को सहकार्यमा सुरु भएको तालिमको उद्घाटनका अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद् कोशी प्रदेश अध्यक्ष अनिलप्रसाद ढुङ्गाना, झापा जिल्ला अध्यक्ष टहलदास ओलीलगायतले तालिमको सफलताको शुभकामना व्यक्त गर्दै सहभागीहरूलाई तालिममा एकाग्रताका साथ सहभागी हुन र सिकेको सीपलाई आफ्नो रोजगार बनाउन सुझाव दिएका थिए ।

तालिम केन्द्रका गौतम पौडेलले सञ्चालन गरेको उद्घाटन समारोहमा वडा सचिव अंकिता कट्टेलले स्वागत गरेकी थिइन् । तालिममा १५ जना युवायुवती सहभागी रहेको वडाध्यक्ष दाहालले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया