Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

बुटवल, २२ पुस २०८० । बुटवल उपमहानगरपालिकाले सार्वजनिक क्षेत्रमा बनाइएका घर-टहरा हटाउन थालेको छ। सडक किनार, नालीमाथिका कल्भर्ट लगायत सार्वजनिक स्थलमा बनाइएका संरचनाहरू उपमहानगरले भत्काउन थालेको हो।

आइतबार बुटवल उपमहानगरपालिका वडा नं ५ हाटबजार लाइनका ३ वटा टहरा र नेपालगञ्ज रोडको एउटा टहरा भत्काएको हो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठले सार्वजनिक स्थलमा निर्माण भएका टहरा हटाउन पटकपटक पत्राचार गरेपनि अटेर गरेपछि आइतबार इलाका प्रहरी कार्यालय बुटवल, नगरप्रहरी, भूमि शाखा र स्थानीयको सहयोगमा हटाएको जानकारी दिए।

उनका अनुसार हाटबजार लाइनमा टहरा हटाएका सडक क्षेत्र बाहेकको क्षेत्रको स्थलमा उजिरसिंह फल्चा, रामापिथेकस पार्क निर्माण गरिनेछ।

यस्तै नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरू हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको उनले बताए। केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए।

बुटवललाई उपयुक्त विश्रामस्थलका रूपमा विकास गर्नका लागि पर्यटकीय स्थल, पार्क, चौतारी, सार्वजनिक शौचालय र पिउने पानीको व्यवस्था गर्ने गरी चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा केही स्थानमा मोडलका रूपमा केही चौतारी निर्माण गरिने उनले बताए। आगामी आर्थिक वर्षमा बुटवलका सबैजसो वडामा पार्क र चौतारी निर्माण गर्ने उपमहानगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया