Online Bichar
आइतबार, भाद्र २३, २०८१ | Sunday, September 8, 2024

काठमाडौं, २२ पुस २०८० । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि गरिएको दरखास्त आह्वान सम्बन्धी सूचना रद्ध गरिएको छ।

उपकुलपति सिफारिस तथा छनोट समितिले शुक्रबार विभिन्न सर्त राखेर गोरखापत्रमा सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो। तर उपकुलपतिका लागि तोकिएको योग्यतासम्बन्धी प्रावधानको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना सच्याउन सिफारिस समितिलाई निर्देशन दिएका थिए।

त्रिभुवन विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको सिफारिस तथा नियुक्ति समितिले आज गोरखापत्रमा सूचना प्रकाशित गर्दै शुक्रबारको दरखास्त आह्वानसम्बन्धी सूचना रद्ध भएको जानकारी दिएको हो।

केही समयअघि प्रधानमन्त्री प्रचण्डले त्रिविको दिक्षान्त समारोहमा उपकुलपति मेरिटोक्रेसी अर्थात् जान्नेलाई छान्ने नियमअनुसार नियुक्त हुने बताएका थिए। तर शुक्रबार प्रकाशित सूचनामा त्रिविमै कम्तीमा तीन वर्ष पदाधिकारी भएर काम गरेको हुनुपर्ने प्रावधान राखिएपछि यसको विरोध भएको थियो।

त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागवण्डा गर्न लागिएको भन्दै नेविसंघ लगायत विद्यार्थी संगठनले विरोध गर्दै आएका छन्।

 

तपाईको प्रतिक्रिया