काठमाडौं, १७ पुस २०८० । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उत्पन्न तनाव अझ साम्य भएको छैन ।
राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताले धरान उपमहानगरमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न माग गर्दै उपमहानगरको कार्यालय घेराउ गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको थियो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपासहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगरपालिकाको कार्यालय मूलगेटमा ताला लगाइएको थियो ।
मंगलबार भने मेयर साम्पाङ र दलका स्थानीय नेता–कार्यकर्ताबीच छलफल भइरहेको छ । उपमहानगरका एक कर्मचारीका अनुसार केहीबेरमा धरानका मेयर हर्क साम्पाङ राई र दलका भातृ संगठनबीच सहमति हुने सम्भावना छ ।
‘मेयरले २० पुसमा मनाउने धरान डे मा प्रधानमन्त्री आउनुपर्ने शर्त राखेका छन्, त्यसको लागि राजनीतिक दलका भ्रातृ संगठनले पहल लिने सहमति हुन लागेको छ’, ती कर्मचारीले भने ।
मेयर साम्पाङले १२ पुसमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएका थिए ।