Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

झापा, १६ पुस २०८० । मेचीनगर नगरपालिकाले नगरप्रमुखको कार्यकक्षमा दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाहीको माग गरिएको छ । गत शुक्रबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा नै अमर्यादित र अशिष्ट भाषा प्रयोग गर्दै दुर्व्यवहार गर्ने ठेकेदार राजकुमार थापा र प्रभात राईलाई कारबाहीको माग गर्दै आइतबार मेचीनगर नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेको छ ।

नदीजन्य पदार्थ उत्खनन, रकम असुली तथा ठेक्कापट्टा सम्बन्धी विषयमा छलफल हुँदै गर्दा नगरप्रमुखको कार्यकक्षमा प्रवेश गरेका थापा र राईले अभद्र व्यवहार देखाएकाले कानुन बमोजिम कारबाहीको माग गरिएको हो ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘कन्ट्याक्टर राजकुमार थापा र निजको साथका लागि आएका प्रभात राई समेतबाट दुरासय राखी सभ्य समाजले सहन गर्न नसक्ने गरी अमर्यादित अशिष्ट र अभद्र एवं हर्कतपुर्ण व्यवहार नगरप्रमुखको कार्यकक्षमा नै भयो ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘सर्वप्रथम उक्त अशिष्ट, अभद्र र अमर्यादित हर्कत प्रति दुःख, खेद तथा भर्त्सना गर्दछौँ । जति र जुन सभ्य शब्दले खेद व्यक्त गरे पनि यस नगरपालिकाको संवैधानिक, कानुनी एवं संस्थागत मर्यादामा आँच पुर्‍याउने गरी भएको उक्त हर्कत गर्ने व्यक्तिहरूलाई प्रचलित नेपाल कानुन बमोजिम उचित र पर्याप्त कारबाही गर्न माग गर्दछौँ ।’

 

तपाईको प्रतिक्रिया