काठमाडौं, १८ कार्तिक २०८० । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिनु भएको छ ।
उहाँले आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा पत्र बुझाउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले एमालेको सहमति बिनानै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक/एक जना मन्त्री शुक्रबार नियुक्त गर्नु भएको थियो ।
सहमति नगरि सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएको हो । गत असोज २७ गते रामबहादुर राना मन्त्री नियुक्त हुनुभएको थियो तर उहाँको जिम्मेवारी भने तोकिएको थिएन ।