काठमाडौं, १५ कार्तिक २०८० । तीन दिनदेखि देशभरको विभिन्न स्थानीय तहको वेबसाइटहरुमा समस्या देखिएको छ ।
सोमबारदेखि स्थानीय तहका वेबसाइटहरुमा समस्या देखा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वेबसाइटहरु नखुल्ने, सर्भर नै डाउन हुने लगायतका समस्या देखिएको हो ।
पहिलो दिन वेबसाइट डिस्प्ले भएपनि एडमिनमा अपलोड गर्न नमिल्ने समस्या देखा परेको मन्त्रालयको भनाइ छ । मंगलबार भने देशभरका अधिकांश स्थानीय तहका वेबसाइट पूर्ण रुपमा समस्या देखा परेको छ ।
बुधबार केही स्थानीय तहको वेबसाइट खुलेपनि धेरैजसो वेबसाइट बन्द कै अवस्थामा रहेका छन् ।
पालिकाहरुमा पनि समस्या भइरहेको वेबसाइटहरुको मुख्य सर्भर रहेको मन्त्रालयले जनाएको छ ।
‘स्थानीय तहका साइटहरुमा प्राविधिक समस्या आएर वेबसाइट नचलेको हो, हाम्रो प्राविधिक टोलीले काम गरिरहेको छ । केही स्थानीय तहमा चल्न थालिसकेको छ,’ मन्त्रालयका सूचना प्रविधि शाखाका उपसचिव अश्विन कुमार पोखरेलले भने ।
उनले अधिकांश स्थानीय तहको साइट बुधबार बेलुकासम्म चल्ने बताउँदै आइतबारसम्म देशभरमै समस्या नहुनेगरी प्राविधिक टोलीले काम गरिरहेको बताए ।