Online Bichar
शुक्रबार, फाल्गुण ११, २०८० | Friday, February 23, 2024

जेबि खड्का
गौरीगंज, २६ असोज २०८० । नेपाल भारत खुल्ला सिमनाका कारण सिमा क्षेत्रबाट लागु औषध ओसारपसार र प्रयोगकर्ताको संख्या बढेको स्थानीय बासिले गुनासो गरेका छन। ईलाका प्रहरी कार्यालय गौरीगंजले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा सिमा क्षेत्रबाट लागू औषधको ओसारपसार र प्रयोग कर्ताको संख्यामा बृद्धी हुदा स्थानीय बासिन्दामा त्रास बढेको धारणा राखेका थिए।

युवा समुदायहरु लागु औषध प्रयोगमा फसेकाले यसलाई नियन्त्रण गर्न सिमा क्षेत्रमा प्रहरीले कडाइ गर्नुपर्ने सुझाव दिएका थिए। गौरीगंज क्षेत्रका मात्र नभएर अन्य छिमेकी पालिकाहरुबाट समेत लागु औषध प्रयोग कर्ताहरु आउने भएकाले जनमानसमा चोरीको त्रास फैलिएको गौरीगंजका यादव रिजालले धारणा राखेका थिए। बिशेष गरि सिमा क्षेत्रका पालिकाहरु लागु औषध जोनका रुपमा देखापरेकाले यसको नियन्त्रणका लागि युवा समुदायलाई लागु औषध प्रयोगबाट रोक्न कुनै कसर बाँकी राख्न नहुने स्थानीय रिजालको भनाइ थियो।कार्यक्रममा स्थानीय केदार ढुङ्गेलले सुकुम्बासी समस्या समाधान र चौपाया चोरी नियन्त्रणका बिषयमा धारणा राखेका थिए।

सिमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाली भुमिमा नेपाल प्रहरी अवरात्र खटिएपनि चौपाय चोरीमा नियन्त्रण नभएको धारणा राखेका थिए। पहिलेको तुलनामा चौपाय चोरी तस्करीमा कमी आएपनि पुर्ण रुपामा नियन्त्रण नभएको उनको भनाइ थियो।स्थानीय राजेन्द्र ताजपुरियाले भारतिय नम्बर प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरु निर्वाध रुपमा नेपाली भुमिमा प्रवेश गरेको र नेपाली नम्बर प्लेटका गाडी भारतीय भुमि प्रबेशमा रोक लगाइएकोमा आपत्ति प्रकट गरेका छन। गौरीगंज गाउँपालिका पुर्ब अध्यक्ष बाबुराजा श्रेष्ठले नागरिकता बितरणमा बेतिथि बढेको धारणा राखेका थिए। पत्रकार मदन राजवंशीले ईलाका प्रशासन कार्यलय गौरीगंजबाट गैर नेपाली नागरिकलाई नागरिकता बितरण हुदापनि दोषी पक्राउ नपरेको धारणा राखेका थिए।नागरिकता जस्तो गम्भीर बिषयमा स्थानीय सरकार सजग नरहेको र गैर नेपाली नागरिकलाई नागरिकता बितरण गरेको मिडियामा सार्वजनिक भएपनि दोषिलाई कार्यवाही नभएको पत्रकार राजवंशीको भनाई थियो।

स्थानीय नौताली राजवंशीले महिला हिंसाका दोषीहरु पावर र पहुचका भरमा छुटकारा पाउने गरेको धारणा राखेकी थिइन। गौरीगंज उद्योग बाणिज्य संघका अध्यक्ष मखना महत्तोले गौरीगंजमा रहेको छोटी भंसार कार्यलय संचालनमा नआउदा ब्यापार व्यावसायमा कठिनाइ भएको धारणा राखेका थिए।नागरिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख ९एस। पी।० दुर्गाराज रेग्मीले सहभागीले राखेका जिज्ञासाको जवाफ दिएका थिए। जिल्ला प्रहरी प्रमुख रेग्मीले लागु औषध ओसारपसार र प्रयोग कर्ता नियन्त्रणमा अभिभावक पनि गम्भीर हुनुपर्ने बताएका थिए। प्रहरीले आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गरेपनि प्रहरीको मात्र एक्लो प्रयास सफल नभएकाले स्थानीय बासिन्दाले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने बताएका थिए।

स्थानीय बासिन्दाले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ईलाका प्रशासन कार्यलय गौरीगंजका प्रमुख चुडामणि आपाँगाईले नागरिकता बितरणमा स्थानीय सरकारको सिफारिस अनुसार नागरिकताका कागजात सम्बन्धि प्रक्रिया पूरा भएका नागरिकलाई मात्र दिइएको बताएका थिए। नेपाली नागरिक र गैर नेपाली नागरिक छुट्याउने बिषयमा प्रशासन कार्यलय भन्दा स्थानीय सरकार बढी चनाखो हुनुपर्ने बताएका थिए।कार्यक्रममा वडा नं.३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं.४ का वडाध्यक्ष फेका गिरी, वडा नं.६ का वडाध्यक्ष बद्री नारायण यादव, सशस्त्र प्रहरी गौरीगंजका प्रमुख बिष्णुहरी घिमिरे लगायतले सहभागीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया