काठमाडौं, १४ असोज २०८०। ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ को रूपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको हो ।
नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकारहरू, स्थानीयतहहरू र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासंघलगायत विभिन्न संघ संस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र सम्वर्द्धनको लागि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले दिवसको शुभकामना दिंदै ज्येष्ठ नागरिक ज्ञान, सिप र अनुभवका लागि प्रेरणाका स्रोत भएको बताउनुभएको छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाई ग्रहण गर्न सक्ने उहाँले उल्लेख गनुभएको छ ।
उहाँहरूको ज्ञान, सिप र अनुभवलाई अन्तरपुस्तान्तरण गरी अत्यधिक उपयोग गर्न सके मुलुकले आर्थिक समृद्धि प्राप्त गर्न तथा सामाजिक सहृदयता कायम गर्न ठुलो सहयोग मिल्ने राष्ट्रपति पौडेलको विश्वास छ ।