झापा, १४ भदौ २०८० । तीर्थयात्राका लागि भारत गएका झापाका एक तीर्थयात्रीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।झापा अर्जुनधारा-९ कार्कीडाँडा निवासी ५५ वर्षीया शारदा कार्कीको मृत्यु भएको हो । उनका श्रीमान् जगतबहादुर कार्की र बिर्तामोड निवासी अनन्तलाल महत्तोका ससुरा बैजु महत्तो घाइते भएका छन् ।
मंगलवार राति भारतको भागलपुरमा भएको सवारी दुर्घटनामा दुईजना महिला तीर्थयात्रीको मृत्यु भएको थियो भने तीन महिलासहित ६ जना गम्भीर घाइते भएका थिए । त्यसमध्ये एक जना मृतक र दुईजना घाइते नेपालका हुन् ।
मंगलवार राति करिब सवा ९ बजेतिर भागलपुर –हंसडीहा मुख्य सडकअन्तर्गत रजौन थाना क्षेत्रको केशव वाटिका विवाह भवन बनगाउँ नजिक तीर्थयात्रीहरू चढेको अटोलाई कारले ठक्कर दिएको थियो । दुर्घटनामा भागलपुर जिल्ला डिमहा गोपालपुर निवासी अनन्त चौधरीकी श्रीमती ममता देवीको पनि मृत्यु भएको हो । त्यस्तै गोपालपुरकै सञ्जयकुमार चौधरी , उनकी श्रीमती पुष्पादेवी , सोही परिवारका महादेव चौधरीकी श्रीमती चंचलदेवी ,मुकेश चौधरीकी श्रीमती ममतादेवी , केलावारीका अमितकुमार घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अटोमा १२ जना सवार रहेका थिए ।उनीहरू बासुकीधाम पुगेर नवगछियातर्फ जाँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । झापाका मृतक र घाइतेहरूलाई आज नेपाल ल्याउन लागेको आफन्त मिकी कार्कीले जनाएका छन् ।