Online Bichar
शनिबार, साउन ०५, २०८१ | Saturday, July 20, 2024

काठमाडौं, १३ भदौ २०८० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले १८ लाख बिगो कायम गरी प्रहरी नायब उपरीक्षक केसीविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता भोला दाहालले केसीले गत वर्ष बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिई १५ दिनसम्म कार्यकालका अन्य कर्मचारीलाई कुनै जानकारी नदिई आफैँले सुन जिम्मा लगाएको कागज गर्न लगाई सुन फिर्ता नदिई घुस लिएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

केसीले नगद आठ लाख ५० हजार र नौ लाख ५० हजारको चेकसमेत गरेर १८ लाख घुस लिएर उक्त सुन अन्य व्यक्तिमार्फत फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१०) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपरपत्र दायर गरिएको छ ।

 

तपाईको प्रतिक्रिया