Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

भद्रपुर, ११ भदौ २०८० । भद्रपुरबाट एकाएक गायब भएकी बालिका मृत अवस्थामा फेला परेको छ । भद्रपुर नगरपालिका-९ प्रकाशपुर निवासी सोमनाथ सिग्देलकी ३ वर्षीया छोरी निर्जला मृत अवस्थामा फेला परेको स्थानीय पत्रकार वीरेन्द्र न्यौपानेले जानकारी दिए ।

उनको शव घरदेखि ५०० मिटर दक्षिणतर्फको पक्की नालामा डुबेको अवस्थामा फेला परेको हो । घर नजिकै रहेको केदारेश्वर शिवालय मन्दिर आमाबुबाले छोरी निर्जलालाई सँगै भजन सुन्न लगेकी थिइन । मन्दिरभित्र आमाबुबा भजन सुनिरहेको बेला निर्जला बाहिर खेल्दै थिइन । मन्दिरबाहिर खेल्दाखेल्दै बालिका सोमबार दिउँसो साढे १२ बजे एकाएक हराएकी थिइन । बालिकालाई कसैले लगेको भन्दै स्थानीयले होहल्ला गर्दै खोजी सुरु गरेका थिए ।

बालिका हराएको भन्दै सामाजिक सञ्जालमा उनको तस्बिर समेत भाइरल बनेको थियो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय झापालाई समेत खबर गरिएको थियो । बालिकाको खोजी गर्ने क्रममा साढे ३ घण्टापछि मन्दिर अगाडीको नालामा डुबेको अवस्थामा बालिकाको शव फेला परेको पत्रकार न्यौपानेले बताए । ‘मन्दिर अगाडीको नालामा बालिका डुबेको र पानीले बगाउँदै ५०० मिटर परसम्म शव ल्याएको देखिन्छ,’उनले भने । बालिकाको शव फेला परेपछि प्रहरी टोली घटनास्थल पुगेको छ ।

 

तपाईको प्रतिक्रिया