Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

झापा, ७ भदौ २०८० । झापामा विभिन्न मुद्दाका ४ फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका वडा नं.२ हाँसखोरा बस्ने २६ वर्षिय मन्दिस भन्ने रोहितबहादुर अधिकारी, सोही वडाको डिठ्ठा चोक बस्ने २७ वर्षिय विवेक राजवंशी, कमल गाउँपालिका वडा नं.४ सरस्वती टोल बस्ने ४१ वर्षिय सानु भन्ने मोहनकुमार चेम्जोङ र दमक नगरपालिका वडा नं.३ भुटानी शरणार्थी शिविर सेक्टर D/४ हट नं. ३९० बस्ने ५९ वर्षिय ताराबिर महत भन्ने टेकबहादुर महत रहेका छन् ।

पक्राउ परेका अधिकारी र राजवंशीलार्ई झापा जिल्ला अदालतको २०७९ माघ २५ गतेको फैसला अनुसार लागुऔषध मुद्दामा ६ महिना कैद, ५ हजार जरिवाना र २ सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भई फरार रहेका थिए । यस्तै, पक्राउ परेका महतलाई झापा जिल्ला अदालतको २०७८ फागुन ३० गतेको फैसला अनुसार वालयौन दुरुपयोग मुद्दामा ५ महिना कैद, १० हजार जरिवाना, २५ हजार पीडितलाई क्षतिपुर्ति भराई दिनुपर्ने र २ सय पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएकोमा फरार रहेका थिए । पक्राउ परेका चेम्जोङलाई झापा जिल्ला अदालतको २०७८ चैत २ गतेको फैसला अनुसार लागुऔषध (गाजा) मुद्दामा ६ महिना कैद र २ हजार जरिवाना फैसला भएकोमा फरार रहेका थिए ।

फरार रहेका ४ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले ६ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । उनिहरुलाई फैसला कार्यान्वयनको जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो।

तपाईको प्रतिक्रिया