Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

काठमाडौँ, ७ भदौ २०८० । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोक्ने भएका छन् । सभामुख घिमिरेले प्रतिनिधिसभाको बिहीबारको बैठकमा संसदीय समितिका सभापतिको निर्वाचन समय तोक्न लागेका हुन् ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार सभामुखले भदौ ११ गते सोमबार प्रतिनिधिसभाका १० संसदीय समितिको सभापतिका लागि निर्वाचन मिति तोक्न लागेका हुन् । ‘सभामुखले सभापति निर्वाचन भदौ ११ गते १ बजेका लागि निर्धारण गर्नुभएको छ । त्यसको जानकारी हाउसलाई गराउनुहुन्छ र सूचना पनि जारी हुन्छ ।’

प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो ।

सभामुखले सभापति चयनका लागि मिति नतोक्दा र राजनीतिक दलहरूले चासो नराख्दा संसदीय समितिहरू प्रभावहीन भएका थिए ।

सत्तारुढ दल र प्रमुख प्रतिपक्षबीच संसदीय समिति सभापतिमा भागबण्डा मिलेपछि सभामुखले निर्वाचन मिति तोकेका हुन् । दलहरूबीचको सहमतिअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १/१ वटा समितिको सभापति लिने भएका छन् ।

संसद्को चौथो ठूलो दल रास्वपा र पाँचौं ठूलो दल राप्रपालाई भने संसदीय समिति सभापति दिइएको छैन । कांग्रेसले अर्थ समिति, संसदीय सुनुवाई समिति, राज्य व्यवस्था तथा सुशासन समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको नेतृत्व गर्ने भएको छ । यस्तै एमालेले लेखा समिति, महिला तथा सामाजिक मामिला समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको नेतृत्व गर्ने छ ।

माओवादी केन्द्रले पूर्वाधार विकास समिति र कानुन, न्याय तथा मानव अधिकार समिति तथा नेकपा एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, जनता समाजवादी पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको नेतृत्व गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया