विराटनगर, २८ साउन २०८० । अविरल वर्षासँगै बाढी पहिरोको कारण कोशी प्रदेशका विभिन्न स्थानहरुमा सडक अवरुद्ध भएको छ । ताप्लेजुङको मैवाखोलामा बाढी आइ मेरिङ्दिन गाउँपालिका–३ स्थितमा दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका–५ जोड्ने मोटरेबल पुलसम्म जाने करिब ७ मिटर बाटो बाढीले बगाउँदा दुवैतर्फको सवारी आवामगन बन्द भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ गुप्त बराह भित्रि सडक खण्डमा पहिरो झरी अवरोध भएको छ ।
इलाम नगरपालिका–४ अधिकारी चोकमा सडकमा पहिरो झरेको, तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रबारे खण्डको देवीथानमा माथिबाट पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ खोक्से खोलास्थित मेची राजमार्गमा पहिरो खस्दा आवागमन बन्द भएको छ । प्रदेश प्रहरी कार्यालयको अनुसार उक्त स्थानहरुमा खटिएका सुरक्षाकर्मीको टोलीले स्थानीय निकायहरुसँग समन्वय गरी बाटो खुलाउने पहल गरिरहेको छ ।
झापाको अर्जुनधारा नगरपालिका–७ खुदुवाबारी–शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलमुनिको पंखामा बाढीले क्षति पुर्याएको छ । पुल जीर्ण अवस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली पुगेर स्थानीय निकायको सहयोगमा बाँध बाध्ने कार्य भइरहेको उक्त कार्यालयले जनाएको छ ।