इलाम, २० साउन २०८० । इलामको फिक्कल बजारमा सञ्चालनमा रहेको पार्वती मेडिकोलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपियाँ जरिवाना गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइराला नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकोको चेकजाँच गर्दा बिक्री गर्न र प्रयोग गर्न नपाइने औषधि बिक्री तथा प्रयोग गरेको पाइएपछि जरिवाना गरेको बताइएको छ । उक्त मेडिकोले बिक्री र प्रयोग गर्न नमिल्ने अर्थात् ‘बन्ली फर हस्पिटल सप्लाई’ लेखिएको बेटाडिन राखेर प्रयोग गरेको पाइएको सहायक प्रजिअ कोइरालाले बताए । उनका अनुसार उक्त मेडिकोमा सो बेटाडिन साढे चार बोतल फेला परेको थियो ।
अनुगमनका क्रममा सूर्योदय नगरपालिका-१० मा सञ्चालनमा रहेका अन्य मेडिकल तथा फार्मेसीलाई पनि विभिन्न सुझाव दिइएको कोइरालाले बताए । केही दिन अघि मात्र प्रशासनले इलाम सदरमुकाममा रहेका दुर्गा मेडिकल र माई पोखरी डेन्टललाई पनि दुई–दुई लाख रुपियाँ जरिवाना गरेको थियो । सो मेडिकल र डेन्टलमा पनि ‘बन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेको थियो ।