Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठमाडौं, १९ साउन २०८० । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकले २२ महिला केन्द्रीय सदस्य थप गरेको छ । माओवादी केन्द्रका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले माओवादीको पार्टी विधानमा ३५ प्रतिशत महिला सहभागीता पुर्‍याउनुपर्ने बाध्यता भएकोले महिला सदस्य थप गरिएको जानकारी दिनुभयो । योसँगै माओवादी केन्द्रको केन्द्रीय सदस्यको संख्या ४०७ पुगेको छ । उहाँले बैठकमा राजनीतिक विचार, आगामी लक्ष्य एवम् कार्यक्रमदेखि कार्यशैलीलाई सचेत बनाउनुपर्ने विषयमा कुरा उठेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी तीन दिनदेखि बैठकको क्रममा छौं । हिजोसम्म ७४ जनाले आफ्नो धारणा राख्नुभयो आज करिब करिब सयको संख्यामा पुग्छ । साथीहरुले एउटा अबको विचार राजनीतिक, लक्ष्य र बाटो के हो ? कसरी अगाडि बढ्ने भन्ने कुरा जोड गरेर राख्नुभएको छ । कार्यशैलीलाई सचेत बनाउने हिसाबले केही मान्छेलाई जिम्मेवारी असाध्यै बढी छ, केही मान्छे धेरै नै बेरोजगार भएको अवस्था छ । यो समस्याको समाधान बैठकले गर्नुपर्छ ।”

उहाँले बैठकलाई अझ बढी जनवादीकरण गर्ने, सबैको राय बुझेर आगामी कार्यक्रम र कार्यदिशाबारे राजनीतिक प्रतिवेदनमा पूर्ण गर्न सकियोस् भन्ने हिसाबमा छलफल भएको बताउनुभयो ।

शुक्रबारको बैठकमा ६५ जना केन्द्रीय सदस्यले धारणा राख्नुभएको जानकारी दिनुभयो । साउन १७ गतेदेखि सुरु भएको बैठकमा शुक्रबारसम्म १३९ जना केन्द्रीय सदस्यले धारणा राख्नेक्रम सकिएको छ । माओवादी केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे कमलादीस्थित प्रज्ञा भवनमा पुनः बस्ने छ ।

 

तपाईको प्रतिक्रिया