इलाम, १५ साउन २०८० । इलामको माईपोखरी डेण्टल र दुर्गा मेडिकललाई अनुगमन टोलीले २ लाखका दरले जरिवाना गरेको छ । अनुगमन टोलीले बन्ली फर हस्पिटल सप्लाई नामक औषधि बेचेको फेला परेपछि दुर्गा मेडिकल र माईपोखरी डेन्टललाई २ लाखका दरले जरिवाना गरेको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले दुर्गा मेडिकल र माईपोखरी डेन्टलमा बन्ली फर हस्पिटल सप्लाई उल्लेख भएको बेटाडिन बिक्रीबिवरण भइरहेको फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले जरिवानाको लागि सात दिनको म्याद दिँदै पसलमै पुगेर पत्र थमाएको छ ।
उपभोक्ता मूल्य नरहेको उक्त औषधिमा जति पनि मूल्यमा बेचबिखन हुने र यस्तो कार्य उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा १६ (२) क बमोजिम क्रियाकलाप भएको हुँदा उक्त ऐनको दफा ३८ (ङ) को कसुरमा दफा ३९ (१) ख बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रजिअ कोइरालाको भनाई छ ।