Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

काठमाडौं, १४ असार २०८० । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बोलाउनेगरी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाउनु भएको छ ।

कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै कार्कीले सभामुख गौतमलाई एमालेको संसदीय दलमार्फत पत्र पठाउनु भएको हो । सभामुख गौतमले भने बैठक स्थगितबारे प्रतिपक्षी दलसँग छलफल गरेर त्यसबारे निर्णय लिने बताउनुभएको छ ।

विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो ।सरकार जोगाउन मुख्यमन्त्री कार्कीलाई ४७ मत आवश्यक पर्छ ।

कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन रहेको छ । कोशी प्रदेशमा एमालेको ४०,राप्रपाको ६ सिट रहेको छ । त्यसैगरी विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद हुन्छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँने व्यवस्था छ ।

तर जसपाले भने मत कसैलाई मत नदिएर तटस्थ बस्ने जनाएको छ । कार्की गत पुस २४ मा एमालेका तर्फबाट मुख्यमन्त्री बन्नु भएको थियो ।

तपाईको प्रतिक्रिया