झापा, १० असार २०८० । आज महाकाली र यसका सहायक नदीहरुमा जलसतह उल्लेख्य बढ्ने र केहिमा सतर्कता तह सम्म पुग्न सक्ने पूर्वानुमान रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी ३ दिन कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएपनि बढ्दो हुने रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा,रुपन्देही, दाङ, सुर्खेत, सल्यान, कालिकोट, अछाम, बैतडी, दार्चुला, डोटी, बझाङ, बाजुरा, दोलखा, सिन्धुपाल्चोक आसपास भई बहने केहि ससाना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, रामेछाप, धादिङ, नुवाकोट, मकवानपुर, दैलेख, जाजरकोट आसपास भई बहने केहि ससाना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
भोली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेश भइ बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
मंगलबार गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेश भइ बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको जनाएको छ ।