झापा, ८ असार २०८० । आज देखि मनसुन प्रणाली देशभर फैलिएको छ । नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा एक दिन ढिला गरी जेठ ३१ अर्थात जुन १४ मा कोशी, मधेस र गण्डकी प्रदेशको पूर्वी भू-भाग र वागमती प्रदेशका अधिकांश भू-भागमा आगमन भएको थियो । नेपालभर मनसुन फैलिन भने आगमनको दिन देखि यस वर्ष ९ दिनको समय लागेको छ ।
देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिन सम्ममा देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाका हुनुका साथै एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्मे हुने तथा मौसम बहाव जस्ता प्रभावहरुले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरु प्रभावित हुन सक्ने भएकोले खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।