झापा, ५ असार २०८० । आज र भोलि तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने भएको छ । नेपाल बाढी सूचनाले आज बिहान दैनिक बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेकोले नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको जनाएको छ । आज ताप्लेजुङ, पाँचथर र संखुवासभा भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा सिन्धुपाल्चोक, रसुवा, धादिङ, कास्की र आसपास भई बहने केहि स-साना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ । यस्तै देशका अन्य भू-भागका स-साना नदीहरुमा बहाव सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ ।
भोलि कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, भोजपुर, इलाम, झापा र मोरङ आसपासका जिल्लाहरु तथा गण्डकी प्रदेशको लमजुङ, गोरखा जिल्ला भई बहने केहि स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहिमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ ।
असार ७ गते कोशी प्रदेशको मध्य पहाडी र तराईका केहि स-साना नदीहरु तथा बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका केहि स-साना नदीहरु र सुदुर पश्चिम प्रदेशको पहाडी भू-भागका केहि ससाना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।