काठमाडौं, १ असार २०८० । जिल्ला अदालत काठमाडौंमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ ।
शुक्रबार जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि रायमाझी, खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित १६ जनालाई जेल चलानको आदेश दिएको हो ।
साथै अदालतले लक्ष्मी महर्जनसहित दुई जनालाइै भने धरौटीमा छोड्न आदेश दिएको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष समशेर मियाँसहित १६ र मुद्दा दायर भएपछि नियन्त्रणमा लिइएका २ जना हाल न्यायिक हिरासतमा छन् भने यो कसुरमा अरू १२ जना फरार छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ र फरार १४ गरी ३० जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यबिरुद्धको अपराध कसुरमा कैद, बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो । अब कुद्दाको छिनोफानो नहुन्जेलसम्मका लागि १६ जना कारागारमै रहेन छन् ।