गौरादह, २४ जेठ । तपाईँ शिक्षक, अभिभावक वा सरोकारवाला झापाको गौरादह नगरपालिका गएर नगर शिक्षा ऐन २०७९ खोज्नुभयो भने खालीहात फर्कनु पर्छ । हालसम्म नगरपालिकाको आधिकारिक वेबसाइट र फेसबुक पेजमा समेत शिक्षा ऐन पढ्न पाउनुहुने छैन ।
तीन महिना अगाडि जारी गरी लागु भैसकेको भनिएको नगर शिक्षा ऐन २०७९ हालसम्म पनि सरोकारवालालाई सहज पढ्न उपलब्ध नगराउनु गुपचुपमा गएब पार्नु पछाडिको रहस्य के होला ?
गौरादह राजपत्रमा गत बर्षको फागुन २८ गते प्रकाशन भएको नगर शिक्षा ऐन सरोकारवाला नागरिकलाई सहजै उपलब्ध गराउदा नगरपालिकालाई के असहज होला ?
हुनत सूचनामैत्री बन्न नसकेको परिचय बनाइसकेको गौरादह नगरपालिकालाई शिक्षा ऐनमा सरोकारवाला सर्वसाधारणको पहुँच नहुनु सामान्य लाग्न सक्छ । तर शिक्षक, सचेत अभिभावक, तथा सरोकारवालाहरुलाई नै शिक्षा ऐनको पहुँचबाट बञ्चित गराइनु लज्सास्पद हो ।
नगरपालिका स्रोतका अनुसार राजपत्रमा नगर शिक्षा ऐन प्रकाशन भएपछि पुस्तकको रुपमा छापेर गत चैत्र १० गतेबाट वितरण पनि सुरु गरिएको थियो । सरोकारवालालाई शिक्षा शाखाबाट भर्पाइ गराएर वितरण सुरु गरिएको सो ऐन सोही दिन केही घण्टा पछि एकाएक वितरण बन्द गरिएको शिक्षा शाखाको भनाइ छ ।
नगरपालिकाले खर्चगरेर ठूलो संख्यामा छापेको नगर शिक्षा ऐनको पुस्तक बाँड्नै नमिल्नेगरी लुकाउनु पर्ने अवस्था किन आयो ? ऐनमा अर्थको अनर्थ हुनेगरी थुप्रै प्रविधिक तथा भाषागत त्रुटीहरु भएपछि प्रमुख प्रशासकीय अधिकृतको निर्देशनमा सबै पुस्तकहरु थन्क्याइएको स्रोतको भनाइ छ ।
नयाँ पुस्तक छापेर आएपछि पाउनुहुन्छ भनेर ऐनको खोजि गर्ने सरोकारवालाहरुलाई नगरपालिकाबाट फर्काउने गरिएको छ । पुस्तक छाप्न त समय लाग्ला तर नगरपालिकाको वेबसाइटमा सो ऐन प्रकाशन गर्न के ले रोकेको छ ?
ऐन राजपत्रमा प्रकाशन गरिसकेपछि पुन मुद्रण गर्न मिल्ने तर आवस्यक प्रक्रिया पूरा नगरी शब्द, वाक्य, भाव नै संशोधन वा परिवर्तन गर्न नमिल्ने बताउछन् कानुनका जानकार मोती माध्यमिक विद्यालयका शिक्षक तिलक दाश तिम्सिना । उनका अनुसार ऐनमा भएका शब्द, भाव वा वाक्य नै परिवर्तन हुनेगरी पुन मुद्रण गर्न नगरसभाको निर्णयले मात्र सक्छ ।
आवस्यक परेको बखत खोज्दा पनि शिक्षा ऐन नपाउनु, महिनौसम्म पनि नगरको वेबसाइटमा ऐन नराखिनु नागरिकको सूचनाको हक प्रति गैरजिम्मेवारीको पराकाष्ठ भएको शिक्षक जीवन पुरी बताउँछन् । सरकारले ऐन जस्तो महत्वपूर्ण लिखित अभिलेख प्रकाशनमा चरम लापरवाही गर्नु , छापिसके पछि देखाउनै नमिल्ने गरी लुकाउनु लज्जास्पद भएको भन्दै लपारवाही गर्नेलाई कारवाही गर्नुपर्ने शिक्षक पुरीको भनाइछ ।
प्राविधिक त्रुटी तथा नगर शिक्षा ऐनमा भएका केही ब्यवस्था प्रति आपत्ति सहित शिक्षक महासंघले २२ बुँदे लिखित ध्यानाकर्षण पत्र नगर प्रमुखलाई बुझाइसकेको महासंघ गौरादहका अध्यक्ष बाबुराम भण्डारीले बताए ।
छापेर थन्क्याइएको नगर शिक्षा ऐन २०७९ मा देखिएका प्राविधिक त्रुटीहरु :
१, गौरादह राजपत्रको मुखपृष्ठमा तथा प्रथम पृष्ठमा गौरादह नगरपालिकाको माध्यमिक तहसम्मको शिक्षा ऐन २०७९ हुनु पर्नेमा माध्यमिक स्तर भएको । शब्द नै परिवर्तन गर्नुपर्ने भएको ।
२, “संघीय शिक्षा ऐन” भन्नाले शिक्षा ऐन २०२८ हुनु पर्नेमा “संघीय शिक्षा ऐन २०२८ ” भएको जसलाई नेपालको कुनै ऐन कानुनले चिन्दैन ।
३, भाषिक त्रुटी लज्जास्पद हुनेगरी अनगिन्ती ।
४, धेरैजसो अनुसूचीमा(अनुसूची ७,८,११,१२) उपदफालाई पनि दफा उल्लेख गरिएको ।
५, अनुसुचीहरुमा कार्यलयको नाम तथा कार्यलय प्रमुखको सम्बोधन त्रुटीपूर्ण
६, शिक्षा ऐनको नामामा समेत धेरै ठाउँमा अशुद्धता भएको
७, नेपाल सरकारको ठाउँमा धेरै ठाउँमा संघीय सरकार लेखिएको ।
८, पेज नं ३० दफा ५४ को उपदफा ८ बाट ९ नभइ ३ र तत्पश्चात फेरी ३, ६,७,८ दोहोरिएको ।
९, स्थानीय सरकार संचालन ऐन २०७४ र शिक्षा ऐन २०७९ का दफाहरु सन्दर्भ बाहिर अनर्थहुनेगरी उल्लेख गरिएका ।