Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

बिर्तामोड, १७ जेठ २०८० । झापाको बिर्तामोडमा रहेको प्रकाश आयल ट्रेडर्स सिल गरिएको छ । बिर्तामोड–भद्रपुर सडकखण्ड अन्तर्गत रहेको प्रकाश आयल ट्रेडर्सको पेट्रोलमा पानी मिसावट भेटिएपछि प्रहरी र नेपाल आयल निगमले तालाबन्दी गरेको हो । पेट्रोल हालेका सवारीसाधन नचलेपछि सवारीधनीहरुले मङ्गलबार साँझ पम्पमा आएर विवाद गरेका थिए ।

ग्राहकहरूले पेट्रोल पम्प तोडफोड गर्न खोज्दा भीडलाई हटाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी सुरज कार्कीले बताउनुभयो ।

त्यसपछि प्रहरी, जनप्रतिनिधि र नेपाल आयल निगम चारआली शाखाले सो पेट्रोल पम्प बन्द गराएको हो । पम्पमा तेल हालेका धेरै अटो र मोटरसाइकल नचलेपछि ग्राहकहरू आक्रोशित भएका थिए । पेट्रोल हेर्दा मिसावट सोझै देखिए पनि त्यो पानी हो या अन्य कुरा हो भन्ने यकिन गर्न भने नसकिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख कार्कीले बताउनुभयो ।

पम्प तोडफोड हुन लागेपछि सुरक्षाका लागि पनि ताला लगाउनुपरेको प्रहरी प्रमुख कार्कीको भनाइ छ । यसबारे नेपाल आयल निगम चारआली शाखाका लेखा अधिकृत सालिक बुढाथोकीसहितको टोलीले पम्पमा पुगेर सिल गर्नुभएको हो । । पम्पमा समस्या देखापरेको खबर पुगेपछि राति ९ बजे आयल निगमको टोली पम्पमा पुगेर शील गरेको लेखा अधिकृत सालिक बुढाथोकीले बताउनुभयो ।

बुढाथोकीले भन्नुभयो, ‘‘सामान्य परीक्षण यहीबाट गर्ने छौँ, थप परीक्षण गर्नुपर्ने आवश्यकता भएमा काठमाडौँ सिनामङ्गलस्थित केन्द्रीय ल्याबमा पठाउँछौ । त्यसपछि तेलमा कुन तहसम्मको मिसावट भएको हो थाहा हुन्छ ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘रातिको समय र सुरक्षाका कारणले पम्पमा मुचुल्का लगायतका कामहरू गर्न नपाएकाले । आज (बुधबार) बिहान ९ बजेबाट पम्पमा बाँकी मुचुल्का लगायतका कामहरू गरिने छ ।’’

प्रारम्भिक अनुसन्धानबाट तेलमा मिसावट देखिएको र यसबारेमा थप अनुसन्धान र ल्याब रिर्पोट आएपछि थाहा हुने आयल नियमका बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेका अनुसार यसअघि यस पम्पका पटक–पटक समस्या र गुनासोहरू आउने गरेको थियो । यसपटक भने तेलमा पानी मिसाएकै जनगुनासो आएपछि छानबिन थालिएको उहाँको भनाइ छ ।

झापाको बिर्तामोड मुक्तिचोकबाट ४ किलोमिटर दक्षिण भद्रपुररोडमा सञ्चालनमा रहेको प्रकाश आयल ट्रेडर्समा इन्धन भर्ने सवारी साधनहरूमा समस्या आएपछि होहल्ला भएको थियो ।

स्थानीय आकाश राजवंशीले आफूले मोटरसाइकलमा तेल भरेर पाँच सय मिटरसम्म नचल्दै इन्जिन बन्द भएपछि ट्याङ्की खोलेर हेर्दा पानीमात्र भएको बताउनुभयो। मोटरसाइकल पम्पमा नै फिर्ता ल्याएर मिस्त्री बोलाएर खोल्दा पानीमात्र निस्किएको राजवंशीको भनाइ छ ।

अर्का मोटरसाइकल चालक बिर्तामोड–३ का डम्बर बस्नेतले तीन दिनअघि सो पम्पमा एक हजार रुपियाँका पेट्रोल हालेर पम्प बाहिर निस्कनसाथ मोटरसाइकल समेत बन्द भएको गुनासो गर्नुभयो ।

यता पम्पका सञ्चालक प्रकाश सरियाले आफ्नो पम्पमा समस्या भएको स्वीकार गर्दै पेट्रोलमा पानी आफूले मिसावट नगरेको बरु तेलको ट्याङ्कीमा पाइपमा वा अण्डरग्राउण्ड ट्याङ्कीमा लिकेज भएको हुनसक्ने बताउनुभयो ।गोरखापत्र अनलाइनबाट साभार

तपाईको प्रतिक्रिया