Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १७ जेठ २०८० । पूर्व सांसद रेशम चौधरीविरुद्धको मुद्दा हेर्न नभ्याइने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश आन्नदमोहन भट्टराईको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो ।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारादा कठायत बोहोराले चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध मुद्दा दर्ता गरेकी हुन् ।

सर्वोच्चमा दर्ता भएको मुद्दा निवेदनमा नेपाल कानून, कानूनले तोकेको कार्यविधि, सर्वोच्च अदालतका विभिन्न मुद्दाहरुमा प्रतिपादित सिद्धान्तसमेत प्रतिकुल हुने गरी चौधरीको जन्मकैदको सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिस र सोही सिफारिसको आधारमा सजाय माफी दिने राष्ट्रपतिबाट भएको निर्णयविरुद्ध विपक्षीको नाममा परमादेश, प्रतिषोधलगायतका आदेश जारी गर्न माग गरिएको छ ।

टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा चौधरीविरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो । तर, जेलभित्रै रहेर राजनीतिक दल खोलेका चौधरीको पार्टीले गत निर्वाचनमा चार सीट जितेपछि उक्त दल अहिले सरकारमा रहेको छ । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था मन्त्री हुनुहुन्छ ।

सरकारले राजनीतिक सत्ता समीकरणको नाममा चौधरीलाई आममाफी दिएर सर्वोच्चको फैसलाको समेत अवज्ञा गरेको आरोप लागेको छ ।

 

तपाईको प्रतिक्रिया