Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

जेबि खड्का
गौरादह, १३ जेठ २०८० । गौरादह नगरभित्र रहेका टोल बिकास संस्थाहरुलाई सक्रिय बनाउन नगरपालिकाबाट ठोस योजना बनाउनु पर्ने स्थानीय बासिन्दाले धारणा राखेका छन। गौरादह नगरपालिका वडा नं.१ ले आयोजना गरेको बार्षिक प्रगति बिबरण सार्वजनिक सुनुवाइ तथा सुझाव कार्यक्रममा स्थानीय बासिले वडाको बिकासका लागि वडाभित्र रहेका टोल बिकास संस्थाहरुलाई अधिकार सम्पन्न बनाउन आवश्यक रहेको धारणा राखेका थिए।

टोल बिकास संस्थाका पदाधिकारीहरुलाई आवश्यक परामर्श दिएर अधिकार सम्पन्न बनाएमा टोल भित्रका समस्या समाधान गर्न स्थानीय सरकारलाई सहज हुने स्थानीय बासिन्दाको भनाइ थियो। वडा नं.१ का नमुना टोल बिकास संस्थाका सचिब केशब संजेलले टोल बिकास संस्थाहरु अधिकार सम्पन्न नभए गठन गरेर मात्र बिकास सम्भव नरहेको जानकारी गराएका थिए। वडा नं.१ को सभाहलमा आयोजना गरिएको बार्षिक प्रगति बिबरण सार्वजनिक कार्यक्रममा स्थानीय बासिन्दाले वडा भित्र रहेका शिक्षा, स्वास्थ्य, खानेपानी, बिधुत र भौतिक पुर्वाधारका बिषयमा जिज्ञासा राखेका थिए ।

नेपाल सरकारको लगानी रहेको र निशुल्क उपलब्ध भएको सरकारी बिद्यालयमा भन्दा खर्चिलो भएको निजी बिद्यालयमा बिद्यार्थीको चाप रहदा सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकार मौन रहेको वडा नं.१ निवासी कृष्ण साम्राले बताएकी थिइन। वडा भित्र रहेका सामुदायिक बिद्यालयमा शैक्षिक गुणस्तर सुधारमा स्थानीय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका थिए। शैलेन्द्र बस्नेतले युवा युवतीहरु लागू औषध दुव्यर्सनी तर्फ आकर्षित भएकाले त्यसलाई नियन्त्रण गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्नुपर्ने धारणा राखेका थिए। लागू औषध दुव्यर्सनी नियन्त्रणमा सचेतना कार्यक्रम गरेरमात्र नहुने उहाँको भनाइ थियो।पर्शुराम दंगालले रासायनिक मल बिक्रीवितरणमा पारदर्शी हुनुपर्ने धारणा राखेका थिए।

जनप्रतिनिधि निर्वाचित भएर कार्यभार समालेको बर्षदिन पुगेकाले एक बर्षको अवधिमा गरिएका कामको जानकारी गराउन कार्यक्रम आयोजना गरिएको वडा नं.१ का वडाध्यक्ष तथा कार्यक्रमका सभापति नगेन्द्र भण्डारीले बताएका थिए। वडा भित्र भएका बिकास निर्माणका कामको बारेमा जानकारी गराउदै आगामी आर्थिक बर्षका लागि तयार गर्ने निति तथा कार्यक्रमका बनाउन सुझाव संकलनका लागि कार्यक्रम आयोजना गरिएको बताएका थिए।वडाध्यक्ष भण्डारीले वडा भित्र गरिएका सामाजिक बिकास,आर्थिक बिकास,भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिधुत, सुशासनका क्षेत्रमा एक बर्षे कार्यकालमा भएका कामको बिबरणको जानकारी गराएका थिए।कार्यक्रममा वडा भित्रका स्थानीय बासि, संघ संस्थाका प्रतिनिधि , राजनीतिक दलका प्रतिनिधि, टोल बिकास संस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, प्रहरी प्रशासन लगायतको उपस्थिति रहेको थियो। वडा सदस्य लक्ष्मी माया बि.क. ले स्वागत मन्तब्य राखेको कार्यक्रममा सदस्य केशर बहादुर खवासले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया