Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, १३ जेठ २०८० । झापामा ९७ वटा मिटरब्याज पीडितहरुको उजुरी परेको छ । जिल्ला प्रशासन झापाले बैशाख १७ गते मिटरब्याज पीडितहरुलाई उजुरी दिन आह्वान गरेको थियो । उक्त आह्वान पश्चात झापामा ९७ वटा उजुरी परेहको जिल्ला प्रशासन झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपानेले बताएका छन् ।

गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि मिटरब्याज पीडितहरूको उजुरी लिन बैशाख १७ गते १५ दिने म्याद राखेर सूचना प्रबाह गरेको र जेठ ७ गते फेरि सात दिनका निम्ति म्याद थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।

गृह मन्त्रालयबाट गत साउन २८ गते सूचना जारी भएपछि झापामा पनि उजुरी लिइएको थियो । त्यस बेला जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा २४ वटा उजुरी परेका थिए । तीमध्ये केही उजुरीमाथि छलफल गराइएको न्यौपानेले बताए । उनले यि २४ वटा मध्ये ११ वटा मुद्दाको काम सम्पन्न भइसकेको जानकारी दिए ।

‘हामी कारबाही गर्न सक्दैनौं, कारबाहीका लागि पीडितहरू अदालत जानुपर्छ’ उनले भने, ‘केही उजुरीउपर दुवै पक्षबीच छलफल गराएका थियौंं ।’ उजुरी दिएर केही पीडितहरू सम्पर्क मै नआएको उनले बताए । झापामा पनि मिटरब्याजको अपराधबाट धेरै जना पीडित भएको बताइएको छ ।

केही निवेदनहरुमा त पीडित भए भन्दै आउनेहरु कै कमजोरीसम्म रहेको उनले बताएका छन् । उनले भने ‘केही निवेदन त बैंकको ऋण नतिरेर बैंक बन्द गराउन परो भन्दै पनि आएको छ ।’ उनले झापामा विशेष गरी शहरी क्षेत्रमा मिटरब्याजको प्रभाव धेरै देखिएको बताउँदै गाउँहरुमा पनि यसको प्रभाव पर्न थालेको बताए ।

गत साउनमा पनि जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गर्दा झापाका २४ जना मिटरब्याज पीडितहरूले उजुरी दिएका थिए । तर, ति निवेदनमध्ये ११ वटा निवेदनको मुद्दा सुल्झि सकेको र नयाँ मुद्दामा पनि चार वटा मुद्दा सुल्झिएको सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया