Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

विराटनगर, ९ जेठ २०८० । कोशी प्रदेश सभाको बजेट अधिवेशन जेठ १४ गते हुने भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन्।

कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले जेठ १४ का लागि बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेका हुन्।

हिउँदे अधिवेशनबाट प्रदेशको नाम कोशी राखेको प्रदेशसभाले त्यो अधिवेशनमा एउटै पनि विधेयक पाएको थिएन। सरकारको नीति तथा कार्यक्रम अनि बजेट पारित गर्ने बजेट अधिवेशन आह्वान भइसकेका बेला सरकार परिवर्तनको कसरत पनि कोशीमा जारी छ।

केन्द्रमा बनेको गठबन्धनविपरीत कोशीमा अहिले पनि एमाले नेतृत्वको सरकार छ। जसमा केन्द्रीय गठबन्धनका सहयात्री दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी सहभागी छन्।

तपाईको प्रतिक्रिया