Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

झापा, १ जेठ २०८० । नेपाल र भारतका गिरोहको मिलेमतोमा नेपाली युवतीहरूलाई झुक्यानमा पारी भारत पु¥याएर यौन व्यवसाय सञ्चालन गर्ने गरेको फेला परेको छ ।

हालै झापामा पक्राउ परेकी म्याग्दीकी अप्सरा भन्ने एलिना खत्रीमाथि गरिएको अनुसन्धानमा यस्तो तथ्य फेला परेको मानव बेचखिबन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए । उनलाई झापाबाट प्रहरीले पक्राउ गरेको हो ।

खत्रीका एक सहयोगीले विसं २०७९ कात्तिक २४ गते एक युवतीलाई नुवाकोटबाट बस चढेर काठमाडौँमा आफन्त भेट्न आउने क्रममा खानेकुरा तथा पानीमा बेहोस पार्ने औषधि मिसावट गरेर खुवाएका थिए ।

पीडित युवती बेहोस् भएपछि उनले गिरोहसँगको मिलेमतोमा भारतको आसाम राज्यको सिल्चरको कोठीमा बेचेका थिए । त्यसपछि खत्रीलगायतले पीडितलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएर राखेको प्रहरीले जनाएको छ ।

त्यसपछि नेपाल प्रहरीले भारतीय प्रहरी र माइती नेपालको सहयोगमा पीडितको उद्धार गरेको थियो । पीडितले दिएको जाहेरीका आधारमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा वैशाख ३१ गते पक्राउ गरी सोमवार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार पीडित युवतीलाई बेचबिखनमा लगाउनेमा उनीसहित नेपाल र भारतका छ जनाको संलग्नता रहेको खुलेको छ । खत्री यसअघि पनि मानव बेचबिखन अपराधमा संलग्न रहेको पाइएको छ । गत मङ्सिरमा उनी अदालतको आदेशले एक लाख ५० हजार धरौटी तिरेर तारिखमा छुटेको पाइएको छ ।

मानव बेचबिखन मुद्दामा खत्रीका श्रीमान् भारतीय नागरिक अजित शाह पुर्पक्षका लागि कारागार कार्यालय भद्रपुरमा रहेका छन् । प्रहरीले उनीहरूले यसरी नेपाली महिलाहरूलाई लगेर भारतमा कोठी सञ्चालन गरेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया