झापा, ३१ वैशाख २०८० । झापाको दमक र बिर्तामोडबाट प्रतिबन्धित लागू औषध गाँजासहित दुईजना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक-३ का ६५ वर्षिया फूलमाया लिम्बु राई र बिर्तामोड नगरपालिका-५ सुकुम्वासी बस्ती बस्ने ६० वर्षिया सैरुन खातुन भन्ने चम्फा चौधरी रहेका छन् । उनीहरूको साथबाट १८ केजी १ सय ग्राम गाँजा बरामद भएको छ ।
गत बैशाख २६ गते दिउँसो ४ बजेको समयमा दमक नगरपालिका-३ शान्ति मार्गमा लागू औषध गाँजा खरिदबिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक,प्रहरी चौकी बेलडाँगीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल बेलडाँगीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले फूलमाया लिम्बु राईलाई १७ के.जी. गाँजासहित फेला पारेको थियो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बैशाख २९ गते साँझ ५:३० बजेको समयमा अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्क र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-५ सुकुम्वासी बस्ती बस्ने सैरुन खातुन भन्ने चम्फा चौधरीले लागू औषध गाँजा बिक्री गर्न छुट्टाछुट्टै प्लास्टिकमा प्याक गरिरहेको अवस्थामा फेला पारी १ केजी, १०० ग्राम गाँजा बरामद गरेको थियो । उनलाई नियन्त्रणमा लिई उनको साथमा रहेको ३ हजार ९०० नगदसमेत बरामद गरी इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए ।