Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

काठमाडौं, १८ वैशाख २०८० । हत्या अभियोगमा फरार एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउका लागि सहयोग माग्दै सभामुख देवराज घिमिरेलाई प्रहरी प्रधान कार्यालयले पत्र पठाएको छ ।

प्रहरीले कोइरीलाई पक्राउका लागि सहयोग माग्दै संसद्लाई लेखेको दोस्रो पत्र हो ।

प्रहरी प्रधान कार्यालयले सभामुखका नाममा पत्र लेखेको हो । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रहरी प्रधान कार्यालयबाट सभामुखका नाममा लेखिएको पत्र प्राप्त भएको जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयले गत पुस ७ मा पनि संसद सचिवालयसँग कोइरीलाई पक्राउका लागि सहयोग माग्दै पत्र लेखेको थियो । संघीय संसद्का महासचिवलाई लेखिएको उक्त पत्रमा संसद्ले कुनै कारबाही गरेको थिएन ।

गत चैत १९ मा प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि पत्रको औचित्य नभएको सभामुख र संसद् सचिवालयको थियो । कोइरी फरार रहेपनि नियमावली अनुसार निलम्बन भएका थिएनन् । कोइरीले सभामुखलाई आफू बिरामी परेकाले बिदा स्वीकृति गरिदिन भन्दै पत्र लेख्नुभएको थियो ।

संसद अधिवेशनको अन्तिम बैठक यही वैशाख १५ मा सभामुखले कोइरीको बिदा स्वीकृतिका लागि प्रस्ताव राखेपनि संसद्ले अस्वीकार गरेको थियो । त्यसपछि प्रहरीले फेरि पत्र लेखेको हो । कोइरीमाथि सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग छ ।

उच्च अदालत जनकपुरले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । उक्त घटनामा संलग्न रहेको अभियोग लागेका कोइरीसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलेको थियो । जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि कोइरी मुक्त हुनुभएको थियो ।

जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याउँदै कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । फरार रहेकै अवस्थामा उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया