झापा, ९ वैशाख २०८० । बेलायत सरकारले ब्रिटिस सेनामा कार्यरत १३ जना गोर्खा सैनिकलाई वीरताको कदर गर्दै प्रतिष्ठित भिक्टोरिया क्रसबाट सम्मान गरेको थियो । ती १३ मा रामबहादुर बेघा लिम्बू कान्छो र एकमात्र जीवित गोर्खा सैनिक थिए । ८८ वर्षका उनको शनिबार बिहान उपत्यकाको एक अस्पतालमा निधन भएको छ ।
मिर्गौलाको समस्याका कारण गत असोजदेखि उनी अस्पताल धाइरहेका थिए । दमक रहँदा उनले बीएन्डसी अस्पतालमा पनि उपचार गराए । दुवै मिर्गौलाले काम गर्न छाडिसकेका कारण गत मंसिरदेखि उनी ललितपुरको मेडिसिटी अस्पतालमा नियमित डाइलसिस गर्दै आएका थिए । त्यही क्रममा उनको निधन भएको साइँली बुहारी मनु पान्धाकले फोनमा जानकारी दिइन् ।
भीसीको अन्त्येष्टि झापामै गरिने भएको छ । बेलायतबाट भीसी एसोसिएसनका प्रतिनिधिहरू आएपछि मात्रै शव अस्पतालबाट अन्त्येष्टिका लागि झापा ल्याइने जनाइएको छ । ‘यूकेबाट प्रतिनिधि आएपछि मात्रै अन्त्येष्टिको योजना बन्नेछ,’ मनुले भनिन्, ‘उहाँहरू नआएसम्म शव अस्पतालमै रहनेछ ।’
लिम्बूका दुई श्रीमती र चार छोरा छन् । जेठा र माइला बाबुकै बाटो पछ्याएर लाहुरे बने । हाल उनीहरू बेलायतमा छन् । कान्छा छोरा अस्ट्रेलिया बस्छन् । उनी साइँला छोरासँग कहिले दमक त कहिले ललितपुर बस्दै आएका थिए । मुटु, उच्च रक्तचाप, बाथ, मधुमेहलगायतका बिरामी रहेका उनको पछिल्लो वर्ष मिर्गौला फेल भएको थियो ।
गर्मीमा ललितपुर र जाडो छल्न दमक आउजाउ गरिरहन्थे । बेलायतचाहिँ दुई वर्षमा एक पटक पुग्थे, बेलायती महारानीको निम्तो मान्न । बिरामले चाप्दै लगेपछि गत वर्ष भने बेलायत जान सकेनन् । ‘दुई वर्षमा एकचोटि बेलायत पुगेर १५ दिन जति बसेर फर्किनुहुन्थ्यो,’ बुहारी मनुले भनिन्, ‘उहाँलाई बेलायत सरकारले उतै बोलाएको थियो तर बस्न रुचाउनुभएन, कार्यक्रममा बोलाउँदा मात्रै जानुहुन्थ्यो । २ वर्षमा एक पटक भिक्टोरिया रानीको बोलावटमा जानुहुन्थ्यो । केही दिन बसेर फर्किनुहुन्थ्यो । अघिल्लो वर्ष जान सक्नुभएन ।’
गोर्खा सैनिक भएर देखाएको वीरताका कारण उनले प्रतिष्ठित भीसी मात्रै पाएनन्, बेलायतवाट फर्किने बेलामा राम्रै रकम पनि सँगै ल्याएका थिए । त्यही पैसाले दमक–८ मा घर बनाए । जीवनको उत्तरार्द्ध त्यही घरमा बिताए ।
बेलायत सरकारले सन् १९६६ मार्चमा लिम्बूलाई भीसी विजेता घोषणा गरेको थियो । १२ जुलाई १९६६ मा बकिमघम प्यालेसमा बेलायती महारानी एलिजाबेथ द्वितीयले उनलाई भिक्टोरिया क्रस दिएकी थिइन् ।
१९६६ नोभेम्बर २१ को मलाया युद्धमा दुस्मनसँगको मुठभेडको लिम्बूले नेतृत्व गरेका थिए । मुठभेडमा उनका दुई योद्धा आँखै अघि ढले । केही घाइते भए । ‘त्यो युद्धका सबै घाइते र लासलाई उनी एक्लैले व्यवस्थापन गरेका थिए,’ पूर्वसैनिक बुद्धिबहादुर राईले सुनाए, ‘त्यो देखेर उनका गोरा कमान्डर पनि चकित परे ।’ पछि जुलाईमा उनलाई एउटा खुसीको खबर सुनाउँदै कमान्डरले भने, ‘रामबहादुर तिमीले ठूलो सम्मान पाउँदै छौं ।’ त्यो बेला उनलाई कस्तो सम्मान हो भेउ थिएन । बेलायती महारानीले दरबारमै बोलाएर छातीमा तक्का सिउरी दिएपछि भने उनी चकित भए ।
सिक्किमसँग साँधसीमा जोडिने तत्कालीन च्याङथापु गाविसमा जन्मेका लिम्बूको लाहुर यात्रा १७ वर्षको उमेरमा दार्जिलिङ पुगेपछि सुरु भएको थियो । उनका बाजे पहिलो विश्वयुद्धका घाइते योद्धा थिए । सैनिक सेवाको अन्त्यका दुई वर्ष वकिमघम प्यालेसको विशेष सुरक्षा जिम्मेवारी उनको काँधमा थियो । भीसीपछि ‘मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर’ बाट पनि उनलाई विभूषित गरिएको थियो ।
करिब २८ वर्ष लामो सेवापछि उनी गोर्खा रिजर्भ युनिट ब्रुनाईमा भर्ना भए । आठ वर्ष थप सेवा गरेपछि १९९२ मा अवकाश लिए । अवकाशपछिका अधिकांश समय उनले झापामै बिताए । जीवनको उत्तरार्द्धमा उनी किरात धर्म, संस्कृति र समाज सुधारका कर्ममा सक्रिय थिए । उनले जन्मस्थल च्याङथापुमा मोटरबाटो, विद्यालय र किरात माङहिम बनाउन पनि भूमिका खेलेका थिए ।कान्तिपुरबाट