कपिलवस्तु, ७ वैशाख २०८० । कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा एक करोड बढी रुपैयाँको धनमाल क्षति भएको छ । गाउँपालिको वडा नम्बर ५ सिसवामा आगलागी भएको हो ।
फुसको ९ ओटा पूर्ण घर र १७ ओटा आंशिक गरी २६ ओटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बिहिबार करिब साढे ११ बजेतिर लागेको आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्र लगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । आगलागीमा परि १ एउटा पाडो जलेर मरेको उहाँले बताउनु भयो। मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताउनु भयो ।
आगलागीको कारण अहिले खुल्न नसकेको उहाँले बताउनु भयो। शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रण आएको हो ।
विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले तत्कालका लागि आगलागी पिडितलाई राहतको लागि प्रतिघरलाई ५० किलो दरले चमाल, दाल, तेल, मसला लगायत आवश्यक खाद्यान्न सामग्री उपलब्ध गराउने बताएका छन् ।