काठमाडौं, ४ वैशाख २०८० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति सकिँदैछ । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार चैत ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा थप एक महिनाको समयसीमा भित्र पनि निर्वाचन हुन नसकेपछि समय समापन हुन लागेको हो ।
बाँकी रहेका क्याम्म्समध्ये आइतबार अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढेर हिजो आइतबार निर्वाचन सम्पन्न भएको छ । तर, रत्न राज्यलक्ष्मी क्याम्पस, पृथ्वीनारायण क्याम्पसलगायतका क्याम्पसमा तोकिएको मितिमा प्रक्रिया अगाडि बढ्न सकेन ।
करिब १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयको ६२ वटा आङ्गिक क्याम्पसमध्ये ५० र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमध्ये ३५० वटा क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । यसअघि २०६३ को जनआन्दोलन यता स्ववियुको निर्वाचन नियमित हुन सकेन ।
आङ्गिक ६२ मध्ये १२ वटामा बाँकी छ, अरु धेरैमा निर्वाचन भयो । ३५० सम्बन्धन प्राप्त भएको क्याम्पसमा निर्वाचन भएको छ ।
त्यस यता प्रत्येक दुई–दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचनको क्रम भङ्ग भएर २०६५ मा स्ववियु निर्वाचन सम्पन्न भयो । २०७३ मा भएको स्ववियु निर्वाचनमा नौ आङ्गिक र उपत्यका बाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले विगतको वर्षभन्दा यो पटक धेरै क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको बताउनुभयो ।
हालसम्म कति वटा क्याम्पसमा स्ववियु निर्वाचन भयो भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “आङ्गिक ६२ मध्ये १२ वटामा बाँकी छ, अरु धेरैमा निर्वाचन भयो । ३५० सम्बन्धन प्राप्त भएको क्याम्पसमा निर्वाचन भएको छ । पहिलेभन्दा धेरैमा स्ववियु निर्वाचन भयो, नतिजाहरु पनि आइरहेको छ । नतिजा आउन पनि समय लाग्छ ।”
पूर्व निर्धारित कार्यतालिका अनुसार चैत ५ गते स्ववियु निर्वाचन हुनुपर्ने भए पनि सो दिन निर्वाचन हुन नसकेका बाँकी क्याम्पसमा तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन समितिले चैत ६ गते निर्देशन दिएको थियो । त्रिवि उपकुलपतिको कार्यालयले चैत ५ गते नै साँझ विद्यार्थी युनियनको हितलाई केन्द्रमा राखी स्थगन भएका निर्वाचन प्रक्रिया सम्पन्न गर्न क्याम्पस प्रशासन, विद्यार्थी नेतृत्व, राजनीतिक दल, स्थानीय प्रशासन, अभिभावक सबैमा विज्ञप्तिमार्फत अपिल जारी गरेको थियो ।गोरखापत्र अनलाइनबाट