Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौं, ४ वैशाख २०८० । काठमाडौंमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । तराईका विभिन्न स्थानबाट भेला भएर शान्तिवाटिकामा बस्दै आएका मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको हो ।

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले सोमबार सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरिरहेका बेला प्रहरीसँग झडप भएको प्रत्यक्षदर्शी श्याम पोखरेलले बताउनु भयो।

प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोराको प्रयोग गरेको उनीहरूले बताएका छन् । झडपमा परी केही प्रहरी र १५–२० जना पीडितहरू घाइते भएका छन् ।

सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ।

 

तपाईको प्रतिक्रिया