काठमाडौँ, २८ चैत २०७९ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइटमा सोमबार मुख्यमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
भ्रष्टाचार निवारण ऐन-२०५९ अनुसार ‘सार्वजनिक पद धारण गरेका व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण सम्बन्धित अधिकारीसमक्ष बुझाउनुपर्नेछ ।’
मुख्यमन्त्री कार्कीको सम्पत्ति विवरणमा झापाको गौरादहमा सगोलमा रहेका २ वटा घर देखिएका छन् । दाजु दीपक कार्की र उनको नाममा गौरादह-१ र गौरादहमा पक्की घर छन् जुन पैतृक सम्पत्तिबाट प्राप्त भएको विवरणमा उल्लेख छ । त्यस्तै श्रीमती अन्जना पाण्डे कार्कीको नाममा ललितपुरको महालक्ष्मी नगरपालिका-४ मा ७ आना र ९ आनाका २ वटा घडेरी रहेका छन् । २०७७ सालमा १ करोड ४० लाखबराबरको उक्त घडेरी किन्न एभरेस्ट बैंकबाट ९० लाख ऋण लिइएको विवरणमा उल्लेख छ ।
त्यस्तै मुख्यमन्त्री कार्कीको नाममा विभिन्न बैंकमा खाता भए पनि मौज्दात भने न्यनूतम भएको उल्लेख छ । त्यस्तै पैतृक सम्पत्तिको बिक्रीबाट कार्की दम्पतीले करिब ३३ लाखबराबरको विभिन्न कम्पनीमा शेयर किनेका छन् । जग्गा किन्न लिएको ९० लाख रुपैयाँ ऋण तिर्न बाँकी रहेको पनि मुख्यमन्त्री कार्कीले उल्लेख गरेका छन् ।