काठमाडौं, २६ चैत २०७९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताउनु भएको छ ।
आज बारा २ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले श्रेष्ठमाथि छानबिन गरेर कारबाही गर्ने बताउनु भएको हो ।
सभापति लामिछानेले भन्नुभयो , ‘मैले ७२ घण्टे अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो । अब ७० घण्टाभित्र सत्यतथ्य छानबिन गरेर कारबाही गर्न नसके मलाई यही गढीमाईमा बलि दिनुहोला ।’
सभापति लामिछानेले सांसद श्रेष्ठ दोषी पाइएमा कारबाही गरिने र सांसदबाट फिर्ता बोलाइने बताउनु भयो ।
सभापति लामिछानेले सांसद श्रेष्ठको अडिओ आफूले सुनेलगत्तै उनलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको बताउनु भयो। आज मात्रै सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएको थियो ।