काठमाडौं, १४ चैत २०७९ । १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो ।
मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकियो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार फेरि बसेर निस्कर्ष निकाल्ने बताउनुभयो । उहाँले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताउनुभयो ।
प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताउनुभयो । उहाँले आजको बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको बताउनुभयो ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।