Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १० चैत २०७९ । जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ । आज शुक्रबार सार्वजनिक २०७८ सालको अन्तिम नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।

सार्वजनिक विवरणअनुसार विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या २३ लाख १५ हजार ३०१ जनाले बढ्दा पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या तीन लाख ६३ हजार ६१ ले बढेको छ । तर हिमाली क्षेत्रमा भने १० वर्षमा जनसंख्या घटेको छ । विगत १० वर्षमा हिमाली क्षेत्रका बसोबास गर्ने जनसंख्या आठ हजार ८४४ जनाले घटेको देखिएको छ ।

१० वर्षमा कुल जनसंख्या २६ लाख ७० हजार ७४ ले वृद्धि हुँदा वृद्धिको अधिकांश हिस्सा तराई क्षेत्रले नै ओगटेको छ । भौगोलिक क्षेत्रअनुसार जनसंख्याको विवरण हेर्दा तराई क्षेत्रको २०६८ सालको तुलनामा ३।३४ प्रतिशतले बढेको छ ।

१० वर्षअघिको जनगणनामा तराईको जनसंख्या कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो । २०७८ सालको जनगणनामा यो प्रतिशत बढेर ५३.६१ प्रतिशत पुगेको छ ।

१० वर्षअघि तराईको जनसंख्या एक करोड ३३ लाख १८ हजार ७०५ रहेको थियो । २०७८ सालमा तराईको जनसङ्ख्या बढेर १ करोड ५६ लाख ३४ हजार ६ पुगेको छ । यस्तै, पहाडी क्षेत्रको जनसंख्या २०६८ सालमा ४३.०१ प्रतिशत रहेकोमा २०७८ सालको जनगणनामा ४०.१ मा झरेको छ ।

२०६८ सालमा पहाडको जनसंख्या एक करोड १३ लाख ९४ हजार सात थियो । १० वर्षपछि पहाडमा बसोबास गर्नेको जनसंख्या एक करोड १७ लाख ५७ हजार ६२४ पुगेको छ । कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिएको छ ।

१० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०८ प्रतिशतमा झरेको छ । हिमाली भेगमा १७ लाख ८१ हजार ७९२ रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७२ हजार ९४८ मा झरेको छ ।

२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो ।

भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर छ ।

प्रदेशहरुमध्ये सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा छ । जहाँ कुल जनसंख्याको २०.९७ प्रतिशत मानिस बसोबास गर्दछन् । सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशको छ । जहाँ कुल जनसंख्याको ५.७९ प्रतिशत मानिस बसोबास गर्ने तथ्यांकले देखाएको छ ।

 

तपाईको प्रतिक्रिया