काठमाडौं, २५ फागुन २०७९ । नयाँ राष्ट्रपति चयनका लागि सुरु भएको मतदान अहिले जारी रहेको छ । संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट सुरु भएको मतदानमा संघीय तथा प्रदेश सभाका सांसदहरुले मत खसालि रहनु भएका छन् ।
मतदानमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले पहिलो मत खसाल्नु भएको थियो । त्यसपछि मात्र सुवास नेम्वाङले मतदान गर्नुभयो ।
संघीय सांसदहरुका लागि रातो र प्रदेश सभा सदस्यहरुका लागि हरियो रंगको मतपत्र रहेको छ । मतपत्रमा उम्मेदवारहरुको नामसहित फोटो पनि राखिएको छ ।
मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरू गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपतिमा नेपाली कांग्रेस नेता पौडेल र नेकपा (एमाले) बाट नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।
विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न बिहीबार मतदान सुरू भएको हो ।
उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।