Online Bichar
शनिबार, माघ १२, २०८१ | Saturday, January 25, 2025

झापा, १९ फागुन २०७९ । नेकपा (एमाले) मा सत्ता र गुट स्वार्थको हाबी बढेको भन्दै एमालेकी झापा जिल्ला उपसचिव चन्द्रमाया श्रेष्ठसहित पाँच जनाले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।

झापाको भद्रपुरमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भद्रपुर नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत रहेकी श्रेष्ठ, एमाले कोशी प्रदेश कमिटि सदस्य पदम थापा, झापा क्षेत्र नम्बर ३ का सदस्य सज्जाद आलम, एमाले बाह्रदशी गाउँपालिका सदस्य हवालोदिन मियाँ र बाह्रदशी सचिवालय सदस्य रहिम मियाँले सामूहिक रुपमा पार्टीबाट राजीनामा दिएका हुन् ।

भद्रपुर–८ निवासी श्रेष्ठले एमालेमा लागेको ३० बर्ष लामो यात्रालाई आजबाट टुङ्गाएको बताएकी छिन् ।
‘पार्टीका नेताहरूमा आफूलाई राजा, महाराजा, शासक ठान्ने संस्कार संस्कृति देखियो,’ उनले भनिन्, ‘नेतृत्वमा देवत्वकरण हुन थाल्यो, आफूलाई अन्धाधुन्ध समर्थन गर्ने कार्यकर्ताहरूलाई काखी च्याप्ने र ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्ने तथ्यबाट सत्य खोज्ने र हरेक घटना र परिवेशलाई द्वन्द्वात्मक भौतिकवादी ढंगले विश्लेषण गर्ने कार्यकर्ताहरू भेदभाव र पक्षपातको सिकार बन्न थालेकोले पार्टीमा बसिराख्नु उचित देखिन् ।’

समाजमा अन्याय र विभेदविरुद्ध लड्ने एमाले पार्टीमा हामी जस्ता कार्यकर्ताहरू नै अन्याय र भेदभावबाट प्रताडित भइरहँदा समेत अन्तर पार्टी सङ्घर्ष गर्दै पार्टीलाई एकताबद्ध बनाई राख्न र यसमा देखिएका विकृति, विसङ्गति अन्त्य गर्न निरन्तर रुपमा हामी लागि परेको बताउँदै उनले भनिन्, ‘हुँदा हुँदा आज आएर पार्टीमा रहेर टेक्ने ठाउँ र सुधारका प्रयत्न गर्ने आधारहरू समेत समाप्त पार्ने प्रयास भइसकेको छ ।’ अब पार्टीबाट अलग भई स्वतन्त्र बस्ने उनको भनाई छ ।
पार्टी नेतृत्वको दम्भ, घमन्ड र अंहकारको कारण म मात्र नभई अब बिस्तारै झापाबाट अधिकांश कार्यकर्ताहरूले क्रमशः पार्टी छाड्दै जाने उनको दाबी छ । त्यस्तै प्रदेश कमिटि सदस्य तथा बाह्रदशी गाउँपालिकी थापाले पार्टीलाई केही सिन्डिकेट र ठेकेदारले कब्जामा लिएर चलाएकोले त्यस्तो पार्टीमा बस्नु उचित नदेखिएको बताए । रातलाई रात भन्न नसकेर दिन भन्ने जस्तो परिपाटी एमालेमा मौलाउँदै गएको उनको भनाई छ ।

यता उनीहरूले सामूहिक राजीनामा दिँदै जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीप्रति १८ बुँदे असहमति उल्लेख गरेको छ । सो विज्ञप्तिमा भनिएको छ, २०६२।०६३ सालमा निरङ्कुश राजतन्त्र विरोधी आन्दोलनको अगुवाइ गर्ने पार्टी एमाले राजावादी शक्ति राप्रपासँग निरन्तर रुपमा तालमेल गर्दै अघि बढेको र झापा ३ मा नेकपा एमालेलाई कमजोर बनाएको, राप्रपाको आलोचना गर्ने नेता कार्यकर्ताहरूको चरित्र हत्या गर्ने तर निर्वाचन अभियानको क्रममा एमाले कार्यकर्ताहरूले भोग्नु परेको अपमान, राप्रपाको निगरानी र एमाले कार्यकर्तालाई राप्रपामा प्रवेश सम्म गराउने राजनीतिक घटनको नेतृत्वले बेवास्ता गरेको, पार्टीमा केही कार्यकताहरुलाई पार्टी नेतृत्वले प्रोत्साहन दिएको, उनीहरूले पार्टी नेतृत्वलाई जे सुनायो त्यसैमा विश्वास गर्ने पार्टी सम्बद्ध विभिन्न इस्युहरुमा आम कार्यकर्ताहरूको यथार्थ भावनालाई पार्टी नेतृत्वले बेवास्ता गरी पक्षपात र भेदभाव पूर्ण निर्णय गर्ने गरेको, पार्टीभित्र काखा पाखा गर्ने परि पार्टीको अन्त्य तत्काल गर्न माग गर्दै योग्यता, क्षमता, योगदान र सिद्धान्त निष्ठ नेता कार्यकर्ताहरूलाई एकताबद्ध बनाई सुदृढ पार्टी सङ्गठन निर्माणमा केन्द्रीय तथा जिल्ला कमिटि नेतृत्वको गम्भीर ध्यान आकर्षण गर्दा पनि उहाँहरूले उक्त कुराहरूको कुनै पर्बाह नगरेको, पार्टीभित्र पार्टी नेतृत्वको आशीर्वाद र संरक्षण निर्णायक बनेको र ठिकलाई ठिक र बेठिकलाई बेठिक भन्ने परिवेश पार्टीमा नरहेको, अब पार्टीमा जतिसुकै योगदान गरे पनि पार्टी नेतृत्वको आर्शिवाद नहुन्जेल पार्टीभित्र कार्यकर्ताहरूको निष्पक्ष मूल्याङ्कन हुने परिवेश नरहेको, पार्टीमा फरक मत राख्ने वा नेतृत्वको कमी कमजोरी औँल्याउने कार्यकर्तालाई जिम्मेवारी नदिने प्रवृत्ति हाबी भएको र उनीहरूलाई राजनीतिक रूपले किनारा लगाइएको, पार्टी मार्क्सवादी दर्शनबाट निर्देशित हुन छोडेको आरोप लगाइएको छ । त्यस्तै पार्टीभित्र मजदुर, किसान र श्रमजीवी वर्गको हकहितको पक्षपोषण गर्ने कार्यदिशा कमजोर बन्दै गएको, बुर्जुवा पार्टी र नेकपा एमालेमा फरक देखिन छोडेको, पार्टी नीति भन्दा नेता प्रधान हुँदै गएको, पार्टीमा अन्तर पार्टी लोकतन्त्रभन्दा गुटतन्त्र हाबी भएको, पार्टी एकल व्यक्तिको कम्पनी जस्तो भएको सबै कुरा पार्टी नेतृत्वको एकल निर्णयबाट चल्ने गरेको, पार्टीभित्र सामूहिक नेतृत्वको परिपाटी हराउँदै गएको, आफू जिल्ला कमिटीको उपसचिव रहे तापनि कार्यालय कमिटि र पदाधिकारी बैठकमा नबोलाई गुटगत रूपले निर्णय गर्ने गरिएको, पार्टीलाई पार्टी नेतृत्वको आशीर्वाद प्राप्त सीमित कार्यकर्ताहरूले स्वार्थपूर्ति गर्ने भाँडो मात्र बनाउन खोजेको, पार्टीभित्र दलाली र चाकडी चाप्लुसी हाबी हुँदै गएको, स्वाभिमानी कार्यकर्ताहरूलाई अपमानित र तिरस्कृत गरिएको र पार्टी कार्यकर्ताहरूलाई आलोचनात्मक चेत र क्षमता भएका ठिक बेठिक सही र गलत विश्लेषण गर्ने क्षमता भएका र उत्पादनसँग जोडेर समाजवाद तर्फको समृद्धिको यात्रामा पूर्वाधार तयार गर्नुपर्नेमा नेतृत्वको जयजयकार गर्ने बनाउने कार्यकर्ता पङ्क्ति तयार गर्ने काम पार्टी भित्रै भइरहेको आरोप विज्ञप्ति उल्लेख छ ।

यता एमाले झापा जिल्ला कमिटीको सिफारिसमा पार्टीका उपसचिव श्रेष्ठ, प्रदेश कमिटि सदस्य थापालाई पार्टीको हित विपरीत गतिविधि गरेको आरोप लगाउँदै केही दिनअघि मात्र साधारण सदस्य समेत नरहने गरी पार्टीले निष्कासन गरिसकेको एमाले स्रोतले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया