काठमाडौं, १३ फागुन २०७९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गर्नुभएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्री प्रचण्डले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो पर्यो मलाई के के पर्यो दबाब पर्यो भनिरहनुभएको छ । तर, उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ । कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट हुन्छ ।’
एमालेले पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।