Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

तेह्रथुम, १३ फागुन २०७९ । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडामा शुक्रबार दिउँसोदेखि सुरू भएको आगलागी नियन्त्रणमा आएको छ ।

आगलागी भएको करिब १२ घण्टापछि फिदिम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा शनिबार बिहान ३ बजे आगलागी नियन्त्रणमा आएको हो । भीषण आगलागीबाट चुहानडाँडाको हात्तीखर्कको तल्लो बस्ती नै सखाप भएको छ । आगलागीका कारण १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ ।

आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते हुनुभएको छ । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ ।

तामाङ समुदायको बसोबास रहेको हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खालि रहेको वडाअध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिनुभयो ।

आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

आगलागीबाट सोम बहादुर तामाङ, विरधन घिसिङ, आस बहादुर घिसिङ, भिम बहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ ।

दधिराम वाइबाको घरमा बस्दै आएका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुभास घिसिङ र अमर बहादुर वाइबाको घरमा बस्दै आएका लामामणी तामाङको घर सँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राई बहादुर तामाङ, डिकमान तामाङ, संखर योञ्जन, जस बहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । आठराईको सुख्खाग्रस्त क्षेत्रमा रहेको हात्तीखर्कमा हरेक वर्ष आगलागी हुने गरेको छ ।

बस्तीमा पानीको अत्यन्तै समस्या र फुसको छाना रहेका घरहरू भएकाले बस्ती सखाप हुदाँ ठूलो क्षति भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । तमोर नदि किनारको जंगलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा ठूलो क्षति भएको हो । क्षतिको यकिन विवरण आउँन बाँकी रहेको छ । जंगलमा लागेको आगो भने नियन्त्रणमा आएको छैन् ।ईमेजखबरबाट 

 

तपाईको प्रतिक्रिया