Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

झापा, ४ माघ २०७९ । झापाका सीमा नाकाबाट लागूऔषध भित्र्याउन कारोबारी तथा प्रयोगकर्ताले नयाँ नयाँ तरिका अपनाउन थालेका छन्। यसै क्रममा काँकडभिट्टा नाकामा अण्डाभित्र लुकाएर ब्राउन सुगर ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-३ निवासी २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खाती रहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रहरीका अनुसार बिहीबार दिउँसो साढे २ बजेको समयमा इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर-६ स्थित पुरानो मेची पुलमा भारतबाट नेपालतर्फ आइरहेका दुवै जनालाई शंका लागि चेकजाँच गरेका थिए।

इवाले दाहिने हातमा अण्डाको क्यारेट बोकेका थिए। प्रहरीले क्यारेट खोलेर हेर्दा १२ पिस अण्डामध्ये बीचमा रहेको एउटा अण्डालाई सानो दुलो बनाई त्यसभित्र हरियो रंगको प्लास्टिकको पोकामा ब्राउन सुगर लुकाएर राखेका थिए।

अण्डा फुटाउँदा हेर्दा ५ ग्राम ब्राउन सुगर फेला परेको थियो। यता पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ।

 

तपाईको प्रतिक्रिया